काठमाडौं । लगानी बोर्डले सातवटा परियोजनाको लागि १८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बोर्डको ४४औं बैठकले उक्त लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ । लगानी गर्ने स्वीकृति पाउनेमा पाँच जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योग छन् ।
बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार २३७ मेगावाटको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ मा ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न स्वीकृति दिइएको छ । त्यसैगरी, ४२.९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाले ६ अर्ब ३० करोड लगानी गर्ने स्वीकृति पाएको छ ।
म्याग्दी खोला हाइड्रोपावरलाई ५७.३ मेगावाटको परियोजनामा १० अर्ब ३१ करोड र ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोइलेक्ट्रिक परियोजनाको लागि १३ अर्ब ५७ करोडको लगानी स्वीकृति दिएको बोर्डले जनाएको छ ।
त्यसैगरी, कालीगण्डकी गर्ज हाइड्रोपावरले १६४ मेगावाटको परियोजनामा करिब २८ अर्ब ६ करोड लगानी गर्न स्वीकृति पाएको छ ।
सिमेन्टतर्फ दाङ सिमेन्ट इन्डस्ट्रिज परियोजनाको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाको लागि १५ अर्ब ५ करोड बराबर लगानी गर्न स्वीकृति दिने निर्णय भएको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तु जिल्लाको बाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनको लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षण अनुमति दिने निर्णय समेत गरेको छ ।
त्यसैगरी, बैठकले कोभिड १९ महामारीका कारण काबु बाहिरको परिस्थिति सिर्जना भएकोले नेपाल–चाइना फ्रेन्डसिप इन्डस्ट्रियल पार्क–दमक, मुक्तिनाथ केबल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समय थप गरिदिएको छ ।
बैठकमा अर्थमन्त्री तथा बोर्डका अध्यक्ष डा. युवराज खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा, बालकृष्ण शिवाकोटी, चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको बोर्डले जनाएको छ ।