काठमाडौं । बेसारमा रहेको औषधीय गुणका कारण पछिल्लो समय युरोप र पश्चिम एसियामा यसको माग बढेको छ । बेसारमा मान्छेको रोग प्रतिरोधी क्षमता बढाउने गुण हुने बताइएको छ ।
छिमेकी भारतका व्यापारीले युरोप र पश्चिम एसियाबाट बेसारको माग बढेको बताएका छन् । भारतभित्रको घरेलु माग पनि बढेको उनीहरुको अनुभव छ । भारतमा कच्चा बेसारलाई दूधमा मिसाएर खाने चलन छ । यसले श्वासप्रश्वास प्रणालीलाई स्वस्थ्य राख्ने विश्वास गरिन्छ ।
भारतको पुनेस्थित के बी एक्सपोर्टका प्रमुख कार्यकारी अधिकृत खखारले कच्चा बेसारको माग ३०० प्रतिशतले बढेको बताएको समाचार इकोनोमिक टाइम्सले सार्वजनिक गरेको छ ।
तर उडान स्थगनका कारण विदेशबाट बढ्दो मागको पर्याप्त लाभ लिन नसकेको व्यवसायीको भनाइ छ । युरोपेली मुलुक बेलायत र जर्मनीबाट कच्चा बेसारको माग निकै बढेको खखारको भनाइ छ ।
मुम्बईका फलफूल तथा तरकारी निर्यातकर्ता राजीव गुप्ताले पनि कोरोना भाइरस प्रभावित मुलुकबाट बेसारको माग निकै बढेको पुष्टि गरे । ‘नोभेम्बरदेखि जनवरीसम्म कच्चा बेसार भित्र्याउने समय हो, जुनबेला म दैनिक ३ देखि ४ टन मसला निर्यात गर्थें । फेब्रुअरीपछि यसको मागमा कमी आउँथ्यो । तर यसपालि पछिल्लो १० दिनमा कच्चा बेसारको माग निकै बढेको छ,’ गुप्ताले भने ।
फेब्रुअरीको अन्त्यसम्म दैनिक करिब ३०० केजी कच्चा बेसार निर्यात गर्ने गरेकोमा मार्चमा माग बढेर तीन टन पुगेको उनले बताए । ‘तर हवाई यातायातमा लागेको प्रतिबन्धले कार्गो ९० प्रतिशतले घटेको छ ।’
नेपालमा पनि स्वदेशी उत्पादनको बेसारले घरेलु माग धान्दैन । यस आर्थिक वर्षको १० महिनामा २८ करोड रुपैयाँ बराबरको २१ सय ८० टन बेसार आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्ष २६ करोड २० लाखको दुई हजार २१ टन बेसार आयात भएको तथ्यांक विभागसँग छ ।
नेपालीका प्रत्येक भान्छामा दिनहुँ बेसार प्रयोग हुने गरे पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीले बेसार पानी खाएर कोरोना भाइरसको असर कम गर्न सकिने बताएसँगै नेपालमा यसको चर्चा चुलिएको छ ।